नेपाल । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत भएको रोमाञ्चक खेलमा घरेलु टोली अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकाका लागि पहिलो हाफको अन्तिम मिनेटमा फोलारिन बैलोगनले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
उनले खेलको ४५औं मिनेटमा आकर्षक गोल गरेका हुन्। दोस्रो हाफमा खेल निकै नाटकीय मोडमा पुग्यो। खेलको ६४औं मिनेटमा पहिलो गोलकर्ता बैलोगनले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुगेको थियो ।
१० खेलाडीमा झरेपछि बोस्नियाले खेलमा दबाब बढाउने प्रयास गरे पनि अमेरिकी डिफेन्स र गोलकिपरले त्यसलाई असफल तुल्याइदिए । खेल सकिन केही मिनेट मात्र बाँकी छँदा मालिक टिलम्यानले उत्कृष्ट प्रदर्शन गरे ।
उनले खेलको ८२औं मिनेटमा गोल गर्दै अमेरिकाको अग्रता २–० को स्थितिमा पुर्याए ।
यो सानदार जितसँगै अमेरिका फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनल (राउन्ड अफ १६) मा प्रवेश गरेको छ । उसले क्वाटरफाइनल प्रवेशका लागि बेल्जियमसँग खेल्नेछ । बेल्जियमले सेनेगललाई ३–२ गोलले हराउँदै अमेरिकासँगको भेट पक्का गरेको हो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्