१६ असार २०८३, मंगलवार

अमेरिकी लाइब्रेरी अफ कङ्ग्रेसको अभिलेखमा नेपाली साहित्यकारका सिर्जना

कोलोराडोखबर संवाददाता , June 30th, 2026

अमेरिका । नेपाली साहित्यका डेढ दर्जन स्रष्टाद्वारा स्वराङ्कित रचनाका अंश अब विश्वकै सबैभन्दा ठुलो पुस्तकालय अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखका हिस्सा बनेका छन्। दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजना (एसएएलआरपी) अन्तर्गत नेपाली, नेपालभाषा र मैथिली भाषाका यी ध्वनि सामग्री नयाँ डिजिटल स्वरूपमा सार्वजनिक गरिएका हुन्।

एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरण परियोजनापछि यी अभिलेख विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि सहज पहुँचमा ल्याइएको लाइब्रेरी अफ कङ्ग्रेसले सूचना सार्वजनिक गरी जनाएको छ। यससँगै नेपाली भाषिक संसारका स्रष्टाका स्वर अन्तर्राष्ट्रिय साहित्यिक सम्पदाको साझा स्मृतिभित्र सुरक्षित भएका छन्।

नयाँ सङ्ग्रहमा अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, धीरेन्द्र प्रेमर्षि, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त र ज्ञानुवाकर पौडेल लगायतका साहित्यकारका आफ्नै स्वरमा वाचन गरिएका रचनाका अंशहरू समावेश छन्। साहित्यकार कृसु क्षेत्रीले यी अभिलेखले केवल सिर्जनालाई मात्र नभई, स्रष्टाको उच्चारण, लय, भावप्रवाह र भाषिक संस्कृतिलाई भावी पुस्ताका लागि सुरक्षित गरेको जानकारी दिनुभयो।

यसअघि सन् २००४ मा लाइब्रेरी अफ कङ्ग्रेसले माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुङ्गाना र दिनेश अधिकारीका आफ्नै स्वरमा वाचन गरिएका रचनाहरू सङ्कलन गरेको थियो। अहिले सम्पन्न परियोजनाले त्यस परम्परालाई विस्तार गर्दै नयाँ पुस्ता र समकालीन स्रष्टाहरूका स्वरलाई पनि विश्व साहित्यिक अभिलेखमा स्थान दिएको छ।

बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काका २० भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी प्रतिष्ठित लेखकहरूको सहभागिता रहेको एसएएलआरपी दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको एक विशिष्ट र महत्त्वपूर्ण परियोजना हो। उपन्यास, कथा, नाटक, कविता र निबन्धजस्ता विविध विधालाई समेट्ने यस सङ्ग्रहले क्षेत्र, भाषा, शैली र विषयवस्तुको बहुलतालाई एकै थलोमा अभिलेखित गरेको छ।

सन् २००२ मा प्रारम्भ गरिएको एसएएलआरपी वेबसाइटमा ध्वनि अभिलेखसँगै लेखकका तस्बिर र संक्षिप्त जीवनीहरू पनि उपलब्ध छन्। यी सामग्रीहरू साउथ एसियन डिजिटल कलेक्सनमार्फत विश्वव्यापी अध्ययन र अनुसन्धानका लागि खुला गरिएका छन्।

यस नयाँ अनलाइन प्रस्तुतीकरणले नेपाली, नेपालभाषा र मैथिली साहित्यका सशक्त स्वरहरूलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने महत्त्वपूर्ण सेतु निर्माण गरेको साहित्यकार क्षेत्रीले बताउनुभयो। यस अर्थमा एसएएलआरपी केवल ध्वनि अभिलेखको सङ्ग्रह मात्र नभई बीसौँ र एक्काइसौँ शताब्दीको दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारको एक अनुपम दस्तावेजका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस्