१४ असार २०८३, आईतवार

घानालाई पराजीत गर्दै क्रोएसिया नकआउट चरणमा प्रवेश

कोलोराडोखबर संवाददाता , June 28th, 2026

नेपाल । पेटार सुसिच र निकोला भ्लासिचको उत्कृष्ट गोलको मद्दतले क्रोएसियाले घानालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह एल बाट उपविजेताका रूपमा नकआउट चरण (राउन्ड अफ ३२) मा आफ्नो स्थान सुरक्षित गरेको छ।

यस जितसँगै क्रोएसियाले यसअघि नै अर्को चरणमा पुगिसकेको घानालाई पछि पार्दै समूहको दोस्रो स्थान कब्जा गरेको हो। ज्लाट्को ड्यालिचको टोली क्रोएसियालाई अर्को चरणमा पुग्न बराबरी मात्रै पनि पर्याप्त हुन सक्थ्यो, तर टोलीले खेलको सुरुवातदेखि नै स्पष्ट रूपमा जितका लागि आक्रामक खेल प्रदर्शन गर्‍यो।

खेलको १७औँ मिनेटमै भ्लासिचको प्रहार पोस्टमा लागेर बाहिरिएपछि क्रोएसियाले दबाब बढाएको थियो। खेलको ३१औँ मिनेटमा पेटार सुसिचले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली बलले जाली चुमेपछि क्रोएसियाले १–० को सुरुवाती अग्रता लियो।

पहिलो हाफमा निकै सुस्त देखिएको कार्लोस क्विरोजको घाना टोलीले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्‍यो। खेलको ७३औँ मिनेटमा प्राप्त फ्री(किकलाई सदुपयोग गर्दै डेरिक लुकासेनले गोल गरी खेललाई १(१ को बराबरीमा ल्याए। बराबरी भएको १० मिनेट नबित्दै क्रोएसियाले पुनः अग्रता लियो।

८३औँ मिनेटमा अनुभवी खेलाडी लुका मोड्रिचको उत्कृष्ट कर्नर पासमा अनमार्क रहेका निकोला भ्लासिचले हेडिङमार्फत गोल गर्दै क्रोएसियालाई २–१ को रोमाञ्चक जित दिलाए।

यो जितसँगै समूह एल बाट इङ्गल्याण्ड शीर्ष स्थान र क्रोएसिया दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेका छन् भने पराजित घाना पनि यसअघिको प्रदर्शनका आधारमा अर्को चरणका लागि छनोट भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्