७ असार २०८३, आईतवार

स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध

कोलोराडोखबर संवाददाता , June 21st, 2026

नेपाल । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ ।

अदालतले उहाँलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ । शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

अदालतले ‘गोमेजले देश छोड्न नपाउने प्रतिबन्ध पालना गराउन सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थललाई निर्देशन जारी गरिने’ बताएको छ । यो राजनीतिकरूपमा अत्यन्त संवेदनशील मुद्दाको सुनुवाइको मिति अझै तोकिएको छैन । न्यायाधीश पेइनाडोले अप्रिलमा गोमेजलाई भ्रष्टाचार, ठूला कारोबार, व्यापारिक सम्बन्धमा भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगको औपचारिक आरोप लगाउनुभएको थियो ।

उहाँले २०२४ को अप्रिलमा गोमेजले प्रधानमन्त्रीकी श्रीमतीको हैसियत प्रयोग गरेर निजी फाइदा लिएको वा नलिएको भन्ने विषयमा अनुसन्धान सुरु गर्नुभएको थियो । गोमेज र प्रधानमन्त्री सान्चेज दुवैले आरोप अस्वीकार गर्दै आएका छन् । मुद्दा म्याड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा गोमेजले सह(निर्देशन गरेको एक पदको स्थापना तथा व्यवस्थापन र सार्वजनिक स्रोत तथा व्यक्तिगत सम्बन्धलाई निजी हितमा प्रयोग गरेको आरोपमा केन्द्रित छ ।

गोमेजले आरोपको खण्डन गर्दै निरन्तर कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथिका आरोपलाई दक्षिणपन्थी शक्तिले सरकारलाई कमजोर पार्ने प्रयास भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्