नेपाल । ‘काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)’को चौथो संस्करण जेठ २३ र २४ गते हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिम रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटेल हिमालयमा आयोजना हुनेछ ।
महोत्सवमा दक्षिण एसियाका चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहने आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवको चौथो संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू आयोजना गरिने महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले जानकारी दिए ।
महोत्सवमा यस पटक सहभागीमध्ये चर्चित गायिका ईला अरुण, लेखक प्रतिभा राय, चर्चित अभिनेता, गीतकार तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत छन् । विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जय प्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले महोत्सवमा सहभागिता जनाउने छन् ।
निर्देशक परिडाले महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्