कोलोराडो । अमेरिका तथा विश्वभर छरिएर रहेका नेपाली साहित्यकार र साहित्यप्रेमीहरूको विश्वस्तरीय सम्मेलन अमेरिकाको कोलोराडोस्थित डेनभरमा शुक्रबार मे २२ देखि शुरु भएको छ । उक्त सम्मेलन मे २५ सम्म जारी रहने छ ।
अनेसास केन्द्रीय कार्यसमितिको तत्वावधान तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा आयोजना भएको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा अमेरिका तथा अन्य मुलुकबाट करिब १३० जना साहित्यकार, लेखक, पत्रकार र शुभेच्छुक सहभागी भएको तथा नेपालबाट पनि आधा दर्जनजति लेखक–साहित्यकार सहभागी रहेको अनेसासले दिएको छ ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । सम्मेलनका विभिन्न सत्रमा साहित्यका विविध विषयमा बहस, अन्तरक्रिया तथा विमर्श हुनेछन् भने “इतिहासमा आख्यान र आख्यानमा इतिहास” शीर्षकमा विशेष बहस पनि हुनेछ ।
सिटौलाका अनुसार सम्मेलन अवधिभर बिहान योग कार्यक्रम सञ्चालन हुनेछ भने साँझ काव्य उत्सव हुनेछ ।
कार्यक्रमअनुसार मे २३ (शनिबार) सम्मेलनको औपचारिक उद्घाटनपछि मुख्य वक्ताका रूपमा सहभागी स्वतन्त्र प्रकाशक तथा सर्वाधिक पुस्तक विक्रेताको सूचीमा रहेका लेखकद्वय ज्याकलिन कर्वक र रेड ओ’लिटलिनले प्रकाशन, वितरण तथा बजार व्यवस्थापनका विषयमा मन्तव्य राख्नुहुने छ ।
त्यसपछि अंग्रेजीमा नेपाली साहित्यिक उत्सव आयोजना हुनेछ । साथै विभिन्न देशबाट आएका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्ने कार्यक्रम रहेको छ ।
मे २४ मा प्रवासी नेपाली लघुकथा, अनेसास नवरत्न पुरस्कार वितरण, आख्यानमा इतिहास र इतिहासमा आख्यान, काव्यिक परम्परा र समकालीन अभिव्यक्ति, नेतृत्व र साहित्य, अनेसास पूर्वअध्यक्षहरूको अनुभव, शाखादेखि केन्द्रसम्म नेपाली साहित्यको उन्नतिमा अनेसासको योगदान, डायस्पोरामा नेपाली साहित्य विकासमा नेपाली पत्रकारको योगदान, विश्व साहित्यमा नेपाली बाल साहित्य र हाम्रो दायित्व, लेखनदेखि प्रकाशन र पाठकसम्म, नेपाली साहित्यमा अन्य भाषाको चर्चा, नेपाली साहित्यमा सिद्धान्त चिन्तन, नेपाली महिला साहित्यः संघर्षदेखि सशक्तीकरणसम्म तथा साहित्य र संस्कृति विषयमा छलफल हुनेछ ।
सम्मेलन घोषणापत्र जारी गर्दै समापन गरिनेछ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्