नेपाल । स्कटल्यान्डलाई हराउँदै अमेरिका आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हरायो । जितका लाथि एक सय ७० रनको सहज लक्ष्य पछ्याएको अमेरिकाले १७.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७, ३७ रन बनाउनुभयो । यस्तै कप्तान सैतेजा मुक्कामल्लाले ३५, मिलन्द कुमारले अविजित २४, शेहान जयसूर्याले १९ र शुभम् रञ्जनेले अविजित ११ रन बनाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४३.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ८५ बलमा चार चौका र तीन छक्का हान्नुभयो । यस्तै ब्राण्डन म्याकमुलन ले ३२, म्याथ्यु क्रसले २० र जर्ज मुन्सेले १९ रन बनाउनुभयो ।
बलिङमा अमेरिकाका रुशिल उगारकरले चार विकेट लिनुभयो । सौरभ नेत्रभाल्करले तीन तथा शुभम रञ्जनेले दुई विकेट लिनुभयो । जितसँगै २७ खेलबाट ३८ अङ्क बनाएको अमेरिका शीर्षस्थानमा छ ।
पराजित स्कटल्यान्ड ३२ खेलबाट ३८ अङ्क जोड्दै नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यस सिरिजको घरेलु टोली नेपाल २७ खेलबाट २२ अङ्क बनाउँदै पाँचौँ स्थानमा छ । नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्