नेपाल । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ ।
वार्ताका क्रममा राष्ट्रपति सीले नयाँ युगमा दुई ठुला देशबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति सीले दुई देशबिच मतभेदभन्दा साझा हितका विषयहरू बढी रहेको उल्लेख गर्दै एकको सफलता अर्कोका लागि अवसर हुने बताउनुभयो ।
चीन र अमेरिकाबिचको स्थिर सम्बन्ध विश्वका लागि लाभदायक हुने चर्चा गर्दै उहाँले सहकार्यबाट दुवै पक्षलाई फाइदा हुने र टकरावले दुवैलाई नोक्सानी पुग्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रपति सीले भन्नुभयो, “हामी प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । हामीले एक अर्कालाई सफल हुन र सँगै समृद्ध बन्न मद्दत गर्नुपर्छ ।”
विश्वमा एक शताब्दीयता नदेखिएको परिवर्तनको गति तीव्र भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर रहेको सन्दर्भ जोड्दै चिनियाँ राष्ट्रपतिले विश्व अर्को दोबाटोमा उभिएको बताउनुभयो ।
उहाँले चीन र अमेरिकाले ठुला शक्तिबिचको द्वन्द्वको जोखिमलाई पार गर्दै प्रमुख राष्ट्रहरूबिचको सम्बन्धको नयाँ नमुना तयार गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न आजको समयको मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति सीले दुवै देशका जनताको हित र मानवताको भविष्यका लागि विश्वव्यापी चुनौतीहरूको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सन् २०२६ लाई चीन–अमेरिका सम्बन्धका लागि ऐतिहासिक र कोशेढुङ्गा सावित हुने वर्षका रूपमा हेर्न चाहेको समेत व्यक्त गर्नुभएको छ ।
यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताउनुभएको छ ।
ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ ।’
भेटका अबसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ । अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उहाँकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्