नेपाल । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ ।
विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका हेरिरहेको छ । नौ वर्षपछि तीनदिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ आइपुग्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ ।
वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले सी चिनफिङलाई ‘असाधारण दृष्टिका नेता’ भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप खुला बनाउन आग्रह गर्नुभएको हो ।
यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनः सन्तुलन गर्ने अवसरका रूपमा अगाडि सारेको देखिएको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायी पनि ट्रम्पको भ्रमणटोलीमा सहभागी भएका छन् ।
बेइजिङले वासिङ्टनसँगको सम्बन्ध सुधारसँगसँगै पश्चिम एसियामा बढ्दो तनाव अन्त्य गर्न चाहेको छ । अमेरिका र इरानबिचको युद्ध अन्त्य गरी परिस्थिति सहज बनाउनुपर्ने पक्षमा चीन रहेको छ ।
ट्रम्पको सन् २०१७ पछिको यो पहिलो चीन भ्रमण हो । कार्यक्रम अनुसार राष्ट्रपति ट्रम्पको सम्मानमा बेइजिङस्थित ग्रेट हल अफ दी पिपुल्समा राजकीय भोज, चियाको आतिथ्यता तथा उच्चस्तरीय समारोह आयोजना गरिने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्