६ बैशाख २०८३, आईतवार

सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को एनआरएनए एनसीसी अमेरिकाद्वारा स्वागत

कोलोराडोखबर संवाददाता , April 19th, 2026

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले नेपाल सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को स्वागत गरेको छ ।

एनआरएनए एनसीसी अमेरिकाले विज्ञप्ति प्रकाशित गर्दै अब कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उल्लेख गरेको छ ।

सरकारले सार्वजनिक गरेको उक्त प्रतिबद्धतालाई ऐतिहासिक र सकारात्मक पहलका रूपमा लिएको उल्लेख गर्दै सरकारप्रति आभार व्यक्त गरेको हो । यसले विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग अझ नजिक ल्याउने विश्वास पनि व्यक्त गरिएको छ।

गैरआवासीय नेपालीका लागि नागरिकता निरन्तरता, सम्पत्ति अधिकार तथा मतदान अधिकार सुनिश्चित गर्ने विषय समेटिनु महत्वपूर्ण उपलब्धि भएको एनआरएनएको भनाइ छ । साथै, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव र पूँजीलाई “ब्रेन गेन” का रूपमा उपयोग गर्ने सरकारको सोचलाई पनि प्रशंसनीय कदम मानिएको छ ।

एनआरएनए अमेरिकाले पूर्वाधार विकास, उच्च शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान, खेलकुद तथा पर्यटन क्षेत्रमा डायस्पोराको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याउँदै सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानी तथा राष्ट्र निर्माणमा सहभागी हुन आह्वान गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेतीले अब हस्ताक्षर संकलन वा डेलिगेसन जस्ता कार्यक्रमभन्दा सरकारलाई सहयोग गर्ने दिशामा ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्यसहित ल्याइएको यस योजनाको सफल कार्यान्वयनका लागि एनआरएनए अमेरिकाले विज्ञप्तिमार्फत नेपाल सरकारलाई पुनः धन्यवाद दिँदै शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्