नेपाल (मकवानपुर) । गजल मञ्च मकवानपुरको २२ औँ स्थापना दिवस तथा २३५ औँ गजल यात्राको अवसरमा ‘गजल यात्रा–५’ नामक मुखपत्र विमोचन हुनाका साथै आजीवन सदस्यता परिचयपत्र प्रदान कार्यक्रम सम्पन्न भएको छ।
साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार डा। निमेष निखिल तथा विशिष्ट अतिथिका रूपमा वरिष्ठ गीतकार तथा गजलकार तुलसी घिमिरे उपस्थित थिए।
कार्यक्रममा मञ्चका सल्लाहकार, पूर्व अध्यक्षहरू, विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि, गजलकार तथा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा ‘गजल यात्रा–५’ नामक प्रकाशन सार्वजनिक गरिएको हो। उक्त पुस्तकमा गजलसम्बन्धी लेख, २०८२ सालमा मञ्चले गरेका गतिविधिहरूको विवरण तथा अग्रजदेखि नवसर्जकसम्मका ४१ जना सर्जकहरूका गजलहरू समावेश गरिएको छ। सम्पादन मण्डलका तर्फबाट देवराज तिवारीले प्रकाशनबारे जानकारी दिएका थिए।
त्यसैगरी, मञ्चले सञ्चालन गरेको आजीवन सदस्यता अभियानअन्तर्गत २४ जना नयाँ सदस्यलाई परिचयपत्र प्रदान गरिएको छ। साथै, संस्थाको स्थापनाकालदेखि नै सहयोग पुर्याउँदै आएका मुक्ति गोविन्द वैद्यलाई मानार्थ सदस्यता प्रदान गरिएको छ।
कार्यक्रममा दीपक गौतम, मनिका नेगी, राजकुमार चौधरी, स्वस्तिका दाहाल, मिथिला अधिकारी, सुवास सजल, देवराज लामिछाने, केशव समर्पण, अनिल कोइराला, हरि पौड्याल, प्रह्लाद चौलागाईं, देवराज तिवारी, केशव तौजले, तुलसी घिमिरे लगायतले गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सहजीकरण सह–सचिव गौरी कँडेलले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष हरि पौड्यालले व्यक्त गरेका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्