-सुदीपभद्र खनाल-
पानीमा यदि देश खोजुँ त भने पानी उतैनै बह्यो
माटोमा यदि देश खोजुँ त भने माटो उतैनै गयो
बाँच्यो देश भनेर भन्नु कसरी जे जे थियो त्यो गयो
सक्यो देश भनेर भन्नु कसरी बाँकी छँदै देश यो
हावामा यदि देश खोजुँ त भने हावा उतैको बह्यो
यो आकाश न फेद देख्छु न टुपो सम्पूर्ण उस्कै छ यो
आफ्नै श्वास उता पुग्यो कि छ यहीँ जाँच्ने जमाना छ यो
उस्कै हैकमले चलेपछि कहाँ यो देश हाम्रो भयो
हाम्रै हो तरवार हात उसको आदेश उस्कै भयो
हाम्रो वक्ष परन्तु बन्दुक उतै तक्मा उसैको भयो
हाम्रो खेत परन्तु अन्न उसको कानून उस्कै भयो
हाम्रो मात्र शरीर तेल उसकै त्यो नून उस्कै भयो
मुग्लाने दरवानको युगकथा मैले सुनेथेँ तर
बाटो छैन अझै न साँघु छ कतै फिर्लान् कसोरी घर
लामै काल वित्यो फिरेन मुलुकी हाला कठै जर्जर
हाम्रो राष्ट्र मुहार फेर्न नउठे हामी अरू उठ्छ र ?
-केन्द्रीय उपाध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्