२३ कार्तिक २०८१, शुक्रबार

साहित्यकार तुल्सी घिमिरेको ‘माटोको मोह’ कविता संग्रह लोकार्पण

कोलोराडोखबर संवाददाता , February 27th, 2024

नेपाल (हेटौंडा) । गत शनिबार साहित्य सङ्गम मकवानपुरको आयोजनामा ३४० औँ नियमित साहित्य सन्ध्यामा साहित्यकार तुल्सी घिमिरेको ‘माटोको मोह’ कविता पुस्तक लोकार्पण भएको छ ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा घिमिरेको माटोको मोह पुस्तक लोकार्पण गरिएको हो ।

साहित्यकार घिमिरेद्वारा लिखित माटोको मोह कृतिमाथि साहित्य सङ्गम मकवानपुरका पूर्वअध्यक्ष तथा सल्लाहकार सुवास खनाल र समालोचक घनश्याम घिमिरेले समीक्षा गरेका थिए । ४२ वटा कविता समावेश भएको पुस्तकमा ग्रामिण भेगको परिवेश र देशप्रतिको मोह झल्किने कविताहरु समावेश भएको समीक्षकद्वय खनाल र घिमिरेले बताए ।

कार्यक्रममा ‘शेषजंग स्मृति कथा पुरस्कार–२०८०’ ज्ञानदीप शिक्षा निकेतन माविका छात्र समर्पण न्यौपानेलाई र ‘अणकुमारी स्मृति साहित्य पुरस्कार–२०८०’ बाट ज्योति माध्यमिक विद्यालय हर्नामाडिकी छात्रा सुजिता विश्वकर्मालाई प्रदान गरेको छ ।

उनीहरुलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा छवि अनित्य, रोशिका भट्टराई, सुमि थिङ, युरोज थिङ, समर्पण न्यौपाने, सुवास सजल र सविता तिमल्सिनाले रचना वाचन गरेको साहित्य सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले जानकारी दिए । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार आरसी रिजाल, अग्रज साहित्यकार देवराज खरेललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्