२९ बैशाख २०८१, शनिबार

भव्यताका साथ सकियो झरनाको बकैया कला-साहित्य महोत्सव (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , February 26th, 2024

नेपाल (हेटौंडा) । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले बकैया गाउँपालिका–९, शिखरपुरस्थित कालीदेवी माविमा शुक्रवार र शनिवार दुईदिने बकैया कला–साहित्य महोत्सव–२०८० गरेको छ । आफ्नो ३१ औँ वार्षिकोत्सवका अवसरमा दुईदिने बकैया कला साहित्य महोत्सव गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए ।

महोत्सवको पहिलो दिन शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले महोत्सवको उद्घाटन गरेका थिए । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष टंकध्वज लोप्चन, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार परशुराम गौतम, समाजसेवी ठूलीमाया मोक्तान, पत्रकार शुरेस श्रेष्ठ, बालअधिकारकर्मी आरपि दाहाललगायत विभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरूको आतिथ्यता रहेको थियो ।

शुक्रबार बकैया गाउँपालिकास्तरीय कविता प्रतियोगिता र चित्रकला प्रतियोगितासमेत गरिएको थियो । कविता प्रतियोगितामा सीता खनाल र अजर फुयाँल तथा चित्रकला प्रतियोगितामा परशुराम गौतम र आरपि दाहाल निर्णायक रहेका थिए । चित्रकलामा इमोन राई, सुस्मिता मोक्तान र सुदिप घलान तथा कवितामा कालीदेवी माविबाट राज भोलोनको त्याग शीर्षकको कविता, जनक माविबाट सुदिप गोङ्वा तामाङको सोझो नेता शीर्षकको कविता र कहेन्द्र माविबाट कुसुम लुइटेलको मेरा बा र परदेश शीर्षकको कविता उत्कृष्ट तीन घोषित भएका थिए ।

महोत्सवको दोस्रो दिन शनिवार झरनाले विभिन्न ८ जनालाई सम्मान समर्पण गरेको छ । पुरस्कार समर्पण सत्र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख अतिथ्यतामा भएको थियो । सो सत्रमा साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका नगद रू। २१,१२१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८० डा. गीता त्रिपाठीलाई प्रदान गरिएको छ ।

यस्तै, साहित्यसेवी विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापना गरेका नगद रू १५,५५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८० कवि साम्ब ढाकाललाई प्रदान गरिएको छ ।

यस्तै, साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेका नगद रू ७,७७७ राशिसहितको खडानन्द–मनमाया युवाप्रतिभा सम्मान–२०८० स्याङ्जाका मिलन समीर, साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेका नगद रू ७,७७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८० गजलकार बिमला कार्की “सुसं”, साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका नगद रु ७,७७७ राशिसहितको सञ्जीवनि बुटि साहित्य सेवा सम्मान–२०८० भरतप्रसाद सापकोटा, नन्दादेवी गौतमले आफ्ना छोरा स्व. गोकर्ण गौतमको स्मृतिमा स्थापना गरेका नगद रु ११,१११ राशिसहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८० पत्रकार रामकुमार एलन, चन्द्रकुमार राईले स्थापना गरेका नगद रु ५,५५५ राशीसहितको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८० गजलकार अजर फुयाँल, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेका नगद ७,७७७ राशिसहितको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८० बाँसुरीबादक विष्णु घतानी सम्मानित भएका छन् ।

त्यस्तै, दोस्रो दिननै पालिका अध्यक्षलाई आठ प्रश्न सत्रमा विभिन्न क्षेत्रका आठ स्थानियहरूले सोधेका आठ प्रश्नको जवाफ बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले दिए । महोत्सवमा करिब तीन दर्जनबढी कवि, मुक्तककार, गजलकारहरुले आ–आफ्ना रचना वाचन गरेका थिए भने बकैयाको काव्य महकमा बकैयाका १३ जना स्रष्टाहरूलाई मञ्च प्रदान गरिएको थियो । यस्तै राई, माझी, तामाङ भाषाका नृत्यहरूसमेत प्रस्तुत गरिएका थिए ।

कार्यक्रमका विभिन्न सत्रहरूको सहजीकरण गायत्री रुपाखेती, अमृता लामिछाने, विश्व राई, प्रेम बोम्जन, निलहरि ढुङ्गेल, कृष्ण घतानी र मसान उपासकले गरेका थिए भने बिभिन्न सत्रमा कृष्णप्रसाद चौलागाई, जनार्दन खनाल, रमेशमोहन अधिकारी, लक्ष्मी जिम्बा, नुरप्रसाद गौतमले अध्यक्षता गरेका थिए ।

महोत्सव आयोजनाका लागि गाउँपालिकाले रू ४ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । विसं २०५० साल फागुन १२ गते स्थापना भएको झरना साहित्यिक परिवारले विविध साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्