३१ भाद्र २०८१, सोमबार

चन्द्रनिगाहपुरमा बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , February 20th, 2024

नेपाल (रौतहट) । स्वतन्त्रता सेनानी स्व. पुण्यप्रसाद दाहालको स्मृतिमा गत आइतबार नेपाल स्रष्टा समाज,काठमाडौं तथा साहित्य सञ्जाल,रौतहटको संयुक्त आयोजनामा चन्द्रनिगाहपुरमा बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नीलहरि कोइरालाको सभापतित्व तथा नेपाल स्रष्टा समाजका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा होटल हिमालयन, चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा शिक्षण पेशामा लामो समयसम्म समर्पित शिक्षक रामकृत चौधरी,संघर्षशील एकल महिला मर्जिना खातुन तथा सामाजिक अभियन्ता एवम् स्वतन्त्रता सेनानी स्व. छविलाल घिमिरे (मरणोपरान्त)लाई सम्मान समर्पण गरियो।

स्व. छविलाल घिमिरेको सम्मान उनका उत्तराधिकारी उनका जेष्ठ सुपुत्र दिलिप घिमिरेलाई प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार शीतल गिरीद्वारा लिखितुआरम्भु (निबन्ध सङ्ग्रह) तथा डा. शालिग्राम शर्माद्वारा रचित ‘अविनाशी अन्तरा’ (कविता सङ्ग्रह) को विमोचन पनि गरिएको थियो ।

प्रमुख अतिथि नगेन्द्रराज शर्माले यसरी मोफसलमा रहेका विभिन्न साहित्यिक सङ्घ संस्थाले विभिन्न जिल्लामा रहेका साहित्यकारहरूलाई बोलाएर एउटै मञ्च प्रदान गरी नेपाली साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।
सभापतिको आसनबाट बोल्दै वडा अध्यक्ष नीलहरि कोइरालाले स्वतन्त्रता सेनानी स्व. पुण्यप्रसाद दाहालको जीवनी र उनको योगदानको कदर गर्दै साहित्यिक कार्यक्रम मार्फत् श्रद्धाञ्जली अर्पण गर्न पाएकोमा आफू कृतज्ञ रहेको बताए ।

विमोचित पुस्तक ‘आरम्भ’का बारेमा साहित्य सञ्जाल रौतहट का सचिव रामउदीतले संक्षिप्त पाठकीय मन्तव्य राखेका थिए भने ‘अविनाशी अन्तरा’का बारेमा नेपाल स्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाले संक्षिप्त समीक्षात्मक टिप्पणी पेश गरेका थिए ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओेम श्रेष्ठ ‘रोदन’ले स्रष्टा समाजको गतिविधिमाथि प्रकाश पार्दै साहित्यकारहरूलाई बोलाएर यसरी भव्य कार्यक्रम सम्पन्न गरेकोमा चन्द्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालय तथा वडा अध्यक्ष नीलहरि कोइराला एवम् साहित्य सञ्जाल रौतहट प्रति आभार प्रकट गर्नुका साथै धन्यवादज्ञापन गरेका थिए ।

कार्यक्रममा कवि तथा कवयित्रीहरूबाट रचना वाचन गरिएको थियो । कविता वाचन गर्नेहरूमा सरू बस्नेत(बारा), आलोक कोइराला(रौतहट), जीवन आचार्य(सर्लाही), लम्बोदर काफ्ले (रौतहट), बिर्खे अन्जान(मकवानपुर), श्यामहरि चौलागाइ (रौतहट), सुषमा आचार्य’अंशु'(काठमाडौं), मसान उपासक (मकवानपुर), माधव पोखरेल’गोज्याङ्ग्रे'(उदयपुर), विश्वनाथ संजेल(मकवानपुर), रेणुका जि.सी.(रौतहट), तेजविक्रम कार्की ( रौतहट), राम उदीत(रौतहट), देविका तिमिल्सिना(काठमाडौं), अनन्त कोइराला(रौतहट), हरिकृष्ण काफ्ले(रौतहट), तारा सुवेदी(काठमाडौं), डा.शान्तिमाया गिरी(काठमाडौं), सुभाषचन्द्र पौडेल’भीमफेदीया'(काठमाडौं), बुद्धिसागर पौडेल(काठमाडौं), गङ्गाप्रसाद लामिछाने(काठमाडौं) तथा लक्ष्मी श्रेष्ठ(रौतहट) रहेका थिए ।

कार्यक्रममा सहभागी काठमाडौंबाट स्रष्टाहरू नगेन्द्रराज शर्मा, श्रीओेम श्रेष्ठ’रोदन’, पवन आलोक, अश्विनी कोइराला, शीतल गिरी, डा. शान्तिमाया गिरी, देविका तिमिल्सिना, मधु पाठक, तारा सुवेदी, डा. सदानन्द कँडेल, सुषमा आचार्ष, राजेश खनाल, बुद्धिसागर पौडेल, गङ्गाप्रसाद भेटवाल, सुमन पुडासैनी ‘मित्र’ तथा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ रहेका छन् भने मकवानपुर पालुङ्गबाट बिर्खे अन्जान र उदयपुर गाईघाटबाट माधव पोखरेल ‘गोज्याङ्ग्रे’ रहेका थिए ।

चन्द्रनिगाहापुरको माटोमा टेक्नासाथ स्रष्टाहरूलाई हिजो स्थानीय स्रष्टाहरू साहित्य सञ्जाल रौतहटका अध्यक्ष माधव काफ्ले तथा नेपाल स्रष्टा समाजका मधेस प्रदेशकी संयोजक लक्ष्मी श्रेष्ठबाट होटल हिमालयनमा हार्दिक स्वागत गर्दै न्यानो न्यानो आतिथ्य प्रदान गरिएको थियो ।

साहित्य सञ्जाल रौतहटका अध्यक्ष माधव काफ्लेले आफ्ना स्वागत मन्तव्यमा स्व।पुण्य प्रसाद दाहालको जीवनी र सम्मानित व्यक्तित्वहरूका बारेमा समेत संक्षेपमा प्रकाश पारेका थिए ।

कार्यक्रमको प्रायोजन तथा सम्पूर्ण व्यवस्थापन चन्द्रपुर नगरपालिका ०५ वडा नम्बर कार्यालयको रहेको थियो ।

कार्यक्रममा स्थानीय बासिन्दा, जन प्रतिनिधि, स्कूलका छात्रछात्राहरू तथा अन्य साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन साहित्य सञ्जाल रौतहटका सल्लाहकार हरिकृष्ण काफ्लेले गरेका थिए भने नेपाल स्रष्टा समाजकी मधेश प्रदेश संयोजक लक्ष्मी श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रम सञ्चालकको आफ्नै भूमिका बढी भएको र समय अभावका कारण कतिपय कवि कवयित्रीहरूले आफ्नो रचना सुनाउन नपाएको गुनासो पनि सुन्नमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्