२८ बैशाख २०८१, शुक्रबार

मधेश प्रदेशमा पनि मोबाईल ब्लड बस हस्तान्तरण, ‘अब प्रत्येक प्रदेशमा एक मोबाइल ब्लड बस’

कोलोराडोखबर संवाददाता , January 19th, 2024

नेपाल । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ ।

संघले विहीवार जनकपुरमा आयोजित एक समारोहकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले मधेश प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र सिहं र नगरप्रमुख मनोजकुमार शाहको उपस्थितिमा स्थानीय नेपाल रेडक्रस सोसाईटी धनुषालाई सो बसको चावी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले जानकी मन्दिरले गर्दा मधेश प्रदेश पुन्यभूमि रहेको बताए । उनले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने विश्वास गरे । कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्री विरेन्द्र सिहले एनआरएनएले प्रदान गरेको मोबाइल ब्लड बसको सहयोगको लागि धन्यवाद दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसँग आत्मिय सम्बन्ध रहेको बताए । उनले संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायत मधेश प्रदेशबाट विश्वभरका बिभिन्न देशमा पुगेका नेपालीहरुले संस्थामा ठूलो योगदान गरेको चर्चा गरे । विगत दुई दशकमा संस्थागत रुपमा नेपालमा १ अर्ब बराबरको परोपकारी काम सम्पन्न भैसकेको छ ।

जनकपुर उप महानगरपालिकाका मेयर मनोजकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रमलाई संघकी उपाध्यक्ष रोजिना प्रधान, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी नरेशप्रसाद सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए । संघका युवा उपाध्यक्ष रोशन थापा, सचिव पारशमणी पोखरेल, सल्लाहकारहरु टिभी कार्की, अतुल कोइराला, भवानी ओली, यूरोप पूर्वसंयोजक सन्तोष भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, कुनाल मिश्र लगायतको उपस्थिति थियो ।

एनआरएनएले प्रत्येक प्रदेशमा एक मोबाइल ब्लड बस दिने लक्ष्य राखेको छ । एनआरएनएले यसअघि सुदूरपश्चिम, वाग्मती र कोशी प्रदेशलाई एक–एक बस हस्तान्तरण गरिसकेको छ । निकट भविष्यमा लुम्बिनी प्रदेशलाई बस हस्तान्तरण गर्नेछ ।

एनआरएनएद्वारा कोशी प्रदेशमा ७० लाख रुपैयाँको मोबाईल ब्लड बस हन्तान्तरण

प्रतिक्रिया दिनुहोस्