१२ श्रावण २०८३, मंगलवार

बिहीबार विधिपूर्वक लक्ष्मीपूजा गरिंदै

कोलोराडोखबर संवाददाता , October 31st, 2024

नेपाल । तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार र साँझ लक्ष्मीपूजा पनि गरिँदैछ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि औँसी लाग्छ ।

सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका ‘श्याम’ र ‘सबल’ नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान
छ।

यस्तै औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ । यसलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ ।

सफासुग्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी, लिपपोत गरिन्छ । यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्यले युक्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्