नेपाल । मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानीगढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
काठमाडौँबाट सर्लाहीतर्फ आउँदैगरेको विद्युतीय गाडी बिहीबार बिहान सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् । म.प्र. ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय गाडीमा चालकसहित १५ जना सवार थिए ।
दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भीमफेदीबाट सहायक प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको नेतृत्वमा १० जना र नेपाली सेनाको ११ जनाको टोली खटिएको थियो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा १० जना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको नेतृत्वमा १० जनाको थप टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्