नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३१) को अवसरमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गर्नुभएको ऐक्यबद्धता तथा शीघ्र उपलब्ध गराउनुभएको मानवीय सहायताप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणको प्रयास, प्रभावित समुदायको पुनर्वास र जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन तथा पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराउनुभयो।
भेटको क्रममा दुवै मन्त्रीले कोप ३१ प्रक्रिया लगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो। साथै, नेपाल र फिनल्यान्डबिचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दुवै पक्षले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्