२१ कार्तिक २०८३, शनिबार

कविताः आऊ हे शुभ्र मोती

कोलोराडोखबर संवाददाता , November 7th, 2026

-सुदीपभद्र खनाल-
सारा यो सृष्टिमा छन् जति चिज गुणले छन् सबैनै अपूर्ण
जस्तै होस् शक्तिशाली तरपनि मुलुकी प्राप्ति मानिन्न पूर्ण
बुझ्दै जाँदा धरामा मनुजमन छुने ज्ञान मात्रै छ सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो

सम्झन्छौँ सिर्जनामा टलक थपिदियौ टल्किए भानुभक्त
नौलो ल्यायौ विधामा गजल गति दियौ मण्डलीमा प्रशस्त
हे प्यारा दिव्य तारा क्षितिजसरि अझै लेखनी लाग्छ अग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो

तिम्रो त्यो पत्र पढ्दा अझपनि घरका प्रेयसी स्तब्ध हुन्छन्
मायाको बोल बोल्ने गजल प्रबल हुँदा अश्रुधारा बहन्छन्
सानो तिम्रो हुँदानै वय मृदु कविता धार हो तीक्ष्ण सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो

अर्काको कीर्तिलाई चमक थपिदिने मोती साँच्चै महान
स्वार्थी छन् आज धेरै शयर अति अहम् को चढेझैँ विमान
सोझा चढ्छन् सुलीमा समय बदलिँदा चोरको सान सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो

नेपाली कीर्ति उच्चा युगुनयुग हुने काव्यका धार ल्यायौ
नौला नौला विधामा सबल कलमले झल्ल भै चम्चमायौ
तिम्रो गाथा सुनौलो अनुपम कविता भित्र सौन्दर्य सग्लो
आऊ हे शुभ्र मोती चहक अझ थपी पार साहित्य अग्लो

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्