९ कार्तिक २०८३, सोमबार

यस वर्ष अस्ट्रेलियाका सबै राज्यमा देउसी-भैलो कार्यक्रम आयोजना हुने

कोलोराडोखबर संवाददाता , October 26th, 2026

अस्ट्रेलिया । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको आयोजनामा यस वर्ष अस्ट्रेलियाका सबै राज्यमा देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ । नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमलाई सफल बनाउन अस्ट्रेलियामा रहेका समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, राज्य तथा क्षेत्रीय समितिका प्रतिनिधि र नेपाली समुदायलाई आवश्यक तयारीमा जुट्न समितिका सभापति सितल गिरीले आग्रह गरेका छन् ।

सभापति गिरीले विदेशमा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिनु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै देउसी–भैलो कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपाली समुदायको सहभागितामा आयोजना हुने कार्यक्रमले नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र परम्परासँग जोड्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम आयोजना हुने मिति तथा समयको विवरण छिट्टै सार्वजनिक गरिने जनाउँदै गिरीले सबै राज्यमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी समयमै अघि बढाउन आग्रह गरेका छन् ।

उनले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै नेपाली संस्कृति र परम्पराको संरक्षणमा हातेमालो गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्