५ कार्तिक २०८३, बिहीबार

न्यूजिल्याण्ड नेपाल सोसाइटीद्वारा १ करोड २६ लाख बढी सहयोग

कोलोराडोखबर संवाददाता , October 22nd, 2026

नेपाल । न्यूजिल्याण्डमा रहेका नेपालीहरूको संस्था न्यूजिल्याण्ड नेपाल सोसाइटी इन्कर्पोरेटेडले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट अर्थात् नेपाली रुपैयाँ १ करोड २६ लाख ८५५ रुपैयाँ ८३ पैसा बराबरको सहयोग प्रदान गरेको छ।

उक्त रकम प्रतिनिधिसभा सदस्य डा. राम लामाको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरणका क्रममा मन्त्री पौडेलले विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारीबोधका साथ सहयोग जुटाउने न्यूजिल्याण्ड नेपाल सोसाइटी तथा त्यहाँ रहेका सम्पूर्ण नेपाली दाताहरूप्रति धन्यवाद व्यक्त गरे ।

उनले प्राप्त सहयोगले बाढीपीडितको राहत तथा पुनर्स्थापनामा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सरकारले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।

न्यूजिल्याण्ड नेपाल सोसाइटीका अध्यक्ष डा. रोशन खड्काले नेपालमा विपद् आइपर्दा विदेशमा रहेका नेपालीहरू सधैँ मातृभूमि र नेपाली जनताको साथमा रहने बताए ।

उनले आगामी दिनमा पनि आवश्यकताअनुसार नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस अभियानमा आर्थिक योगदान गर्ने तथा सहयोग संकलनमा भूमिका निर्वाह गर्ने न्यूजिल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र दाताहरूप्रति आभार व्यक्त गरिएको छ।

विदेशमा रहेर पनि मातृभूमिमा विपद् पर्दा नेपालीहरूले देखाएको यस सहयोगले प्रवासी नेपाली र मातृभूमिबीचको आत्मीय सम्बन्ध, एकता र मानवीय उत्तरदायित्वलाई थप बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्