नेपाल । नेवार महिला समूहको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक तथा कलाकार शारदा चित्रकारद्वारा लिखित कलासम्बन्धी पुस्तक ‘समय चक्र’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति एरिना ताम्राकार लगायतले कृति विमोचन गरे ।
कृति सार्वजनिक गर्दै कुलपति ताम्राकारले शारदा चित्रकारको समग्र कलाजीवनमाथि प्रकाश पारिन् । उनले अग्रज कलाकार शारदा चित्रकारको यो किताब नेपाली चित्रकलाको महत्त्वपूर्ण दस्तावेज भएको बताइन् ।
उमेरले ८६ वर्ष भए पनि कामले उनी अझै पनि सक्रिय रहेको बताउँदै कलाकार शारदा हरेक कलाकारका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरिन् ।
उक्त अवसरमा पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले शारदा चित्रकार आफूले चिनेको पुरानो साथी भएको बताउँदै उनको नेपाली कलाक्षेत्रमा ठूलो योगदान रहेको चर्चा गरिन् ।
नेपाली कलामा जीवन अर्पण गरेकी चित्रकारले कलाको विषय समेटेर लेखेको ‘समय चक्र’ले धेरै तथ्य उजागर गर्ने अभिव्यक्ति दिइन् ।
कृतिकार चित्रकारले विमोचित किताबमा आफूले कलामा गरेका कामको सचित्र वर्णन गरेको बताउँदै आफ्ना पिता मास्टर तेजबहादुर चित्रकारको योगदानको स्मरण गरिन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्