२० आश्विन २०८३, मंगलवार

सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको छः प्रधानमन्त्री

कोलोराडोखबर संवाददाता , October 6th, 2026

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशातर्फ अघि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले सोमबार सामाजिक सञ्जालमार्फत भूमिहिन, सुकुम्बासीको समस्या सधैँका लागि समाधान गर्ने दिशातर्फ अघि बढेको बताउनुभएको हो । उहाँले निर्वाचनका बेलामा एक हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समाधान गर्ने स्पष्ट वाचा गरेको स्मरण पनि गराउनुभयो ।

प्रधानमन्त्री शाहले सरकारले हालसम्म पाँच हजार ७३७ परिवारलाई लालपुर्जा वितरण गरेको पनि बताउनुभयो । सात दशकसम्म आश्वासन पाएका नागरिकले अब लालपुर्जा पाउनेगरी सरकारको काम अघि बढेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पूर्ववर्ती सरकारले भूमि समस्या समाधानका नाममा विभिन्न आयोग तथा संरचना खडा गर्‍यो। राजनीतिलाई केन्द्रमा राखेर बनेका ती संरचनामा राज्यले ठूलो स्रोत र समय खर्च गर्‍यो। वि।सं। २०७७ देखि गत वर्षसम्म मात्र यस्ता संरचनामा दुई अर्ब रुपैयाँभन्दा बढी राज्यको खर्च भएको देखिन्छ। तर त्यसको तुलनामा अपेक्षित नतिजा आएन।”

प्रधानमन्त्री शाहले भूमि समस्या समाधान समिति गठन भएपछि अहिले देशभरका तथ्याङक एकीकृत रूपमा सङ्कलन र प्रशोधन भइरहेको बताउनुभयो । उहाँले हालसम्म प्रणालीमा कुल १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेको तथा यी निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको छ र अब प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अगाडि बढिरहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्