९ आश्विन २०८३, शुक्रबार

साहित्यकार श्रीओम श्रेष्ठ “रोदन” र शंकर भारती सम्मानित

कोलोराडोखबर संवाददाता , September 25th, 2026

नेपाल । भेरी साहित्य समाज केन्द्रीय समितिले नेपालगन्जमा लघुकथा समाज नेपाल र स्रस्टा समाज नेपालका अध्यक्ष, गोरखापत्रका पूर्व प्रधानसम्पादक एवं मधुपर्कका पूर्वसम्पादक श्रीओम श्रेष्ठ “रोदन” र उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीलाई सम्मानित गरेको छ ।

दुबैजना वरिष्ठ स्रस्टालाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राज्ञ सनत रेग्मी तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा।डा। कृष्णप्रसाद घिमिरेले संयुक्त रुपमा टिका, अबीर र खादामाला लगाई सम्मानपत्र अर्पण गरी सम्मान गर्नुभएको भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार नेपाली साहित्यिक क्षेत्रमा लामो समयदेखि सक्रिय भई “अर्थहीन अर्थहरु” र “समयका सम्भावनाहरु” निबन्धसंग्रह, “समुद्र वारि समुद्र पारि” र “नबिर्सने दिनहरु” नियात्रासंग्रह, “ललिता” कथासंग्रह, “आँखीझ्याल” लघुकथासंग्रह जस्ता थुप्रै कृतिहरु प्रकाशित गरी नेपाली साहित्यको विकासमा पुरयाएको योगदानको उच्च कदर गर्दै गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा साहित्यकार “रोदन” लाई सम्मान गरिएको हो ।

त्यसैगरी उपन्यास विधामा लामो समयसम्म कलम चलाई “अनुपम देवता”, “अर्को जुनी” र “प्रेम तपस्या” लगायत दर्जन बढी उपन्यासहरु प्रकाशित गरी साहित्य जगतमा पुरयाएको योगदानको उच्च कदर स्वरुप उपन्यासकार भारतीलाई पनि सोहि कार्यक्रममा सम्मान गरिएको समाजका अध्यक्ष बस्नेतले बताउनुभयो ।

सो अवसरमा सम्मानित हुनुभएका वरिष्ठ साहित्यकार रोदनले पछिल्लो समयमा देशका विभिन्न स्थानमा साहित्यीक गतिविधि र कार्यक्रम बढ्दै गएको र नयाँ पुस्ता साहित्यतर्फ जोडिन थालेको खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्