अमेरिका । दक्षिण अफ्रिकाको पूर्वी बन्दरगाह सहर डरबननजिकैको एक बस्तीमा बन्दुकधारीले गोली चलाउँदा गर्भवतीसहित ११ जनाको मृत्यु भएको छ ।
क्वाजुलु–नाताल प्रान्तीय सरकार र प्रहरीले बुधबार घटनाको पुष्टि गर्दै आक्रमणमा अन्य तीन जना बाँच्न सफल भएको जनाएको छ ।
डरबनको दक्षिणमा रहेको क्वामखुथा बस्तीमा मङ्गलबार राति करिब ११ बजेभन्दा केही समयअघि घटना भएको हो । क्वाजुलु–नाताल प्रान्तका मुख्यमन्त्री थामसाङ्का नटुलीका अनुसार पीडित एउटा घरमा भेला भएका बेला सशस्त्र आक्रमणकारी परिसरमा प्रवेश गरी गोली चलाएका थिए । आक्रमणको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै जिम्मेवार व्यक्तिसम्म पुग्न सक्ने महत्वपूर्ण सुराक फेला परेको जनाएको छ ।
स्थानीय टेलिभिजन इएनसिएका अनुसार आक्रमणकारीले पीडितलाई एउटा कोठामा जबर्जस्ती प्रवेश गराएर गोली चलाएका थिए । उनीहरूले पीडितमध्ये एक जनाको कारमासमेत आगो लगाएको जनाइएको छ । घटनापछि स्थानीय समुदाय शोकमा डुबेको मुख्यमन्त्री नटुलीले बताउनुभयो । एक स्थानीय बासिन्दाले इएनसिएसँग कुरा गर्दै आफूले जीवनभर त्यहाँ बसे पनि यस्तो घटना कहिल्यै नदेखेको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्