१३ भाद्र २०८३, शनिबार

लघुकथा: बिरानो घर

कोलोराडोखबर संवाददाता , August 29th, 2026

-आरसी रिजाल-
गाईको तेस्रो बेतपछि बुढी आमाले — आफूले स्याहार्न नसक्ने खबर पठाइन् ।

एकदिन ज्वाईं आएर बाछोलाई बोकेर अगाडि बढ्छन्। माली गाई पछिपछि लाग्छे। झण्डै सयहातजती अगाडि बढेपछि बुढी आमासंग बिछोडको पीरले होला फनक्क फर्केर आउछे। आमाले मालीलाई सुमसुम्याएर — जाउ भन्छे। मालीलाई बाछोको मायाले तान्छ। अलि टाढा पुगेपछि फेरि फर्कन्छे। यसपटक आमाले निक्कै टाढासम्म पुर्‍याएर — लौ आफ्नै दिदीको घर जाउ ! यस्तै हो संसार ! केही दिनपछि अभ्यस्त भएर उतैको मायामा भुल्छ्यौ। अब कहिले नफर्किनु है भन्दै धापमारेर पठाइन्।

दूध छुटेपछि बाछो बेचिदिए। एकदिन आमाले एक्कासी माली आगनमा देख्छिन् र भन्छिन् — किन भागेर आएकी ? भैगो माइती आइछ्यौ । तल खोल्सीमा टुसारे ,खन्यौ पलाएका छ्न्। घाँस देख्दा तिम्रो याद आइरहन्थ्यो। पसु भनेर के गर्नु ? मेरो मायाले तानिएकी हौ। शरीरको किर्ना टिप्दै आमाले — ल हेर फेरि गाभिनी भैछ्यौ । एकदुईदिन मजाले घाँस खाएर जानू भनिन्।

तेस्रो दिन मालीलाई लिन ज्वाईं आए।आमाले — ल माली मेरो गलेको शरीर देखिहाल्यौ । अर्को साल भागेर नआउनु । अब यो घर बिरानो हुन्छ भन्दै आँसु झारेर बिदा गरिन्।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्