१३ भाद्र २०८३, शनिबार

कविता: ऐना

कोलोराडोखबर संवाददाता , August 29th, 2026

-सुदीपभद्र खनाल-
सम्पत्तिलाई घर मित्र भाई
कामार्थ त्याग्छन् डर लाजलाई
सकिन्छ निद्रा सुख पीरले त्यो
पीरो न चर्को जब पेट भोको

संसार यस्तै छ इतिहास यस्तै
जो जित्छ त्यो नै कटुसत्य जस्तै
जित्ने र हार्ने पलको छ फेर
पला अगाडि छ उषा अँधेर

ज्यूँदो पलामै किन प्राणहीन
जन्मन्छ यौटै पलमा नवीन
सिर्जन्छ संसार सबै पलामा
पलापलामै किन फेरि धामा

संसार आफैँ बहुनाट्यशाला
मनुष्य आफैँ छ यहाँ बिहाल
के काव्य लेखूँ कुन शव्द चित्र
सत्कर्म के हो पल की चरित्र?

संसारकै यो सुखधाम भित्र
बस्छिन् कतै रे कविता पवित्र
भेट्दै नभेटी कुन काव्य लेखूँ
च्याति कि आफ्नै हृद पट् म लेखूँ?

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्