१३ भाद्र २०८३, शनिबार

कविता: लास

कोलोराडोखबर संवाददाता , August 29th, 2026

-लक्ष्मण आचार्य-

खोलाको किनारमा
पल्टिएको छ एउटा लास !
लासको आँखाले
खोजिरहेको छ
आफन्तहरूको पहिचान
कुरिरहेको छ आफ्नो
समुचित दाहसंस्कार र
अन्तिम अवसान !

भर्खरै
केही जिउँदा मानिसहरूले
लासको कानका मुन्द्राहरू लुछे
नाकका फुलीहरू लुछे
र मान्छेहरूको हुलमा
गिद्धहरूको परिचय दिए

खोई ?
“हाम्रो मानवता कहाँ छ ? ”
लास माथि ऐश्वर्य खोज्ने ?
खोई ?
हाम्रो धर्म कहाँ छ ?”

ऊ त
विपदमा परेको थियो,
बाँच्छु भन्दाभन्दै छटपटिएर
विवशतामा मरेको थियोे
सायद
उसको शरीरभन्दा पहिले
उसको प्रतिरोध मरेको थियो।
उसको चित्कारसँगै
सुन्दर जीवन अस्ताएको थियो

यहाँ
शवयात्रा त
बाँच्नेहरूको निस्किरहेको छ
यहाँ परीक्षण त
बाँच्नेहरूको भइरहेछ

किनारमा मिल्किएको
त्यो एउटा लास
केवल लास मात्र होइन
कैयन सपनाहरूको उठिबास हो
यो त प्रकृतिको कहालीलाग्दो विनाश हो
ए !
लासमा ऐश्वर्य खोज्ने मानिसहरू हो ?
लास लुछ्ने गिद्ध नबन
लास ठुग्ने काग नबन
भो यस्तो कुर काम नगर !

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्