७ भाद्र २०८३, आईतवार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन

कोलोराडोखबर संवाददाता , August 23rd, 2026

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो।

शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुग्नुभएको थियो । उहाँ यहाँको घरपझोङ –३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको छ।

प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनुभएको बताउनुभयो ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको बताउनुभयो । व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गर्नुभएको थियो । प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्