७ भाद्र २०८३, आईतवार

नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

कोलोराडोखबर संवाददाता , August 23rd, 2026

नेपाल । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको आयात ३१ प्रतिशतभन्दा बढीले बढेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरका वस्तु आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको साउनमा आयात ३१ दशमलव ०४ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यस अवधिमा नेपालको निर्यात व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ । साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु विदेशी मुलुकमा निर्यात भएका छन् ।

गत आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात भएको थियो । त्यसको तुलनामा चालु आवको साउनमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको हो ।

आयात र निर्यात दुवैमा वृद्धि भएपछि नेपालको कुल वैदेशिक व्यापारको आकारसमेत बढेको छ । यद्यपि आयातको तुलनामा निर्यातको परिमाण अझै निकै कम रहेकाले व्यापार घाटा उच्च रहेको देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सुरुवाती महिनामै आयात तथा निर्यात दुवैमा भएको वृद्धिले बाह्य व्यापारमा गतिविधि बढेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्