नेपाल । लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ) ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ ।
लघुकथा समाजको १९ औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार सर्जक पोखरेलीलाई १० हजार १११ रुपियाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो । लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सर्वनाम थिएटरका संस्थापक नाटककार अशेष मल्ल, समाजका अध्यक्ष तुलसीहरि कोइराला र पूर्णप्रसाद ब्राह्मणका छोरा सुरेशराज शर्माले संयुक्त रूपमा नगदसहित उहाँलाई सम्मान गर्नुभयो ।
वरिष्ठ नाटककार अशेष मल्लले संस्था खोल्न सजिलो भए पनि त्यसलाई निरन्तरता दिन निक्कै कठिन भएको अवस्थामा लघुकथा समाजले १९ औँ वर्षमा लक्ष्य अनुसारको काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।
लघुकथा समाजका संस्थापक अध्यक्ष ‘रोदन’ ले पुरस्कृत व्यक्तित्व श्रेष्ठका छोरा गायक विवेक श्रेष्ठले गीत गाएर चर्चित हुनुभएपछि छोरोको नामबाट चिनिनु पर्दा छुट्टै नाम राख्ने सिलसिलामा सर्जकले आफूलाई अल्पविराम पोखरेली नाम राखेर लघुकथाको क्षेत्रमा पहिचान बनाउन सफल हुनुभएको बताउनुभयो ।
सर्जक पोखरेलीले लघुकथा समाज पोखरा स्थापना गरेर लघुकथा विधालाई पोखरामा प्रवर्धन गर्न विविध कार्यक्रमसहित १४६ औँ शृङ्खला आयोजना गरिसकेको जानकारी दिनुभयो । पुरस्कृत व्यक्तित्व पोखरेलीले मोफसलका साहित्यसेवकलाई सम्झिएर पुरस्कृत गरेर हौसला प्रदान गरेको भन्दै लघुकथा समाजप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाले लघुकथा लेखनको सुरुवात गर्नुहुने पूर्णप्रसाद ब्राह्मणले थालेको पदचाप पछ्याउँदै जाँदा समाजमार्फत धेरै लघुकथाकार र पुस्तकसमेत प्रकाशन गर्न सफल भएको बताउनुभयो ।
छोरी मन्दिरा रिजालले ५० हजार र भान्जी गीता चालिसेले २५ हजार रुपियाँ पूर्णप्रसाद ब्राह्मण पुरस्कार कोषका लागि सहयोग रकम दिनुभएकोमा उहाँहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो । सो अवसरमा सर्वनाम थिएटरका कलाकारले अल्पविराम पोखरेलीका ‘आमाको मन’ र ‘नौली बुहारी’ लघुकथामा आधारित लघुनाटक पनि मञ्चन गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्