६ भाद्र २०८३, शनिबार

कविता: थाहा

कोलोराडोखबर संवाददाता , August 22nd, 2026

-आरसी रिजाल-
म सानो छँदा
केही काम गर्न खोज्दा
बाले — ए तँलाई केही थाहा छैन् ?
भन्दै हकार्नु हुन्त्यो
म बबुरो– होला भनी ठान्थेँ।

जवानीमा बिबाह भयो
केहि दिनपछि श्रीमतिले —
तपाईलाई केही आउँदैन
केही थाहा छैन भन्न लागिन
म गोज्याङ्रे–
हो कि क्याहो ठान्थेँ।

अब घरले जा,घाटले आभन्ने उमेरमा
छोराबुहारी मात्र होइन
नातिनातिनाले समेत–
हजुरबाको दिमाग सुकिसक्यो
जमाना कहाँबाट काँ पुगिसक्यो
हजुरलाई केही थाहै छैन् भन्छन्।

अब म भन्दिनँ
तपाईहरु नै भन्नुस्–
मैले थाहा पाउने कहिले ?
के म थाहै नपाई मर्ने ?

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्