नेपाल । साहित्यिक पत्रकार संघले आफ्नो ५५औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रका पाँच साधकहरूलाई सम्मानित गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज चित्रकार तथा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले साधकहरू मदन चित्रकार (चित्रकला), प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ (इतिहास र संस्कृति), ज्ञान उदास (काव्य), चैत्य देवी (अभिनय) र सन्तोष पन्त (हास्य अभिनय)लाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट सम्मानित गरे ।
संघले ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कवि दीपा राई पुनलाई प्रदान गरेको छ । यो पुरस्कार पहिले नै घोषणा भएको तर कवि राई विदेशमा रहेकोले नेपाल आएको अवसर पारेर प्रदान गरिएको हो ।
उक्त अवसरमा प्रमुख अतिथि कर्माचार्यले संघले आयोजना गरेको कार्यक्रम गरिमापूर्ण भएको उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको संक्षिप्त परिचय दिए भने राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे ।
उक्त अवसरमा पुरस्कृत साधकहरूका साथै प्रा.डा. सुरेन्द्र केसी, मदनदास श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, पद्मावती सिंह लगायतले बोले ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्