नेपाल । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेश सभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उनलाई पदमुक्त गरिएको जानकारी दिए ।
मंगलबार नै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गरेको उनले बताए । नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ ।
उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ ।
देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । उनी यसयता नेपाल फर्किएका छैनन् ।
देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) मा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्