३ भाद्र २०८३, बुधबार

भारतका स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

कोलोराडोखबर संवाददाता , August 19th, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबिच सन् १९५० देखि एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । सोही अनुसार सेठलाई सम्मान गरिएको हो । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

नेपाल–भारतबिचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।

नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष सेठसँग उहाँकी पत्नी तथा भारतका सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएसनका अध्यक्ष कोमल सेठसहित पाँच सदस्यीय भ्रमण टोली तीनदिने भ्रमणमा नेपाल आएको हो ।

नेपाल–भारतबिच दुई देशका सेना प्रमुखलाई एकआपसमा मानार्थ दर्जा प्रदान गर्नुका साथै दुवै देशका सेनाबिच विपत् व्यवस्थापन, सैनिक तालिम, संयुक्त अभ्यास र क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ । उहाँको नेपाल भ्रमणले दुई देशबिचको परम्परागत सैनिक सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्