२९ श्रावण २०८३, शुक्रबार

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना हुँदै, एनआरएनएद्वारा आभार व्यक्त

कोलोराडोखबर संवाददाता , August 14th, 2026

नेपाल । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गर्दै नेपाल तथा पोर्चुगल सरकारप्रति आभार व्यक्त गरेको छ ।

नेपाल सरकारको २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । निकट भविष्यमा नै कार्यालय सञ्चालनमा आउने अपेक्षा गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले जारी गरेको विज्ञप्तिमा काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीलाई विभिन्न कन्सुलर सेवा लिन सहज हुने उल्लेख गरिएको छ । विशेषगरी पारिवारिक पुनर्मिलन, भिसा तथा अन्य कन्सुलर सेवाका लागि हाल भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने बाध्यता कम हुने संघको विश्वास छ ।

नयाँ सरकार गठन भएपछि काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापनाका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल अघि बढाइएको थियो । सोही क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका राज्य तथा विदेश मामिलामन्त्री पाउलो राङ्गेलसँग टेलिफोन संवाद गरी कन्सुलर कार्यालय स्थापनालगायतका विषयमा कुराकानी गरेका थिए ।

नेपाल सरकारको अनुरोध तथा त्यसपछिका कूटनीतिक पहलपछि पोर्चुगल सरकारले काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । एनआरएनए पोर्चुगलले यसलाई पोर्चुगलमा रहेका नेपाली समुदायका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

नेपाल र पोर्चुगलबीच १ सेप्टेम्बर १९७६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लामो समयसम्म नेपालले पोर्चुगलमा आवासीय दूतावास स्थापना नगरेका कारण पोर्चुगलसम्बन्धी नेपाली कूटनीतिक जिम्मेवारी पेरिसस्थित नेपाली दूतावासले सम्हाल्दै आएको थियो ।

नेपाल सरकारले सन् २०२५ मार्चमा लिस्बनमा आवासीय नेपाली राजदूतावास स्थापना गरेको थियो । लिस्बनमा स्थापना भएको नेपाली दूतावासका पहिलो आवासीय राजदूत प्रकाशमणि पौडेल हुन् ।

दूतावासको औपचारिक उद्घाटन भने २० फेब्रुअरी २०२६ मा परराष्ट्र सचिव अमृतबहादुर राईको पोर्चुगल भ्रमणका क्रममा गरिएको थियो । यससँगै नेपाल–पोर्चुगल सम्बन्ध थप संस्थागत र प्रत्यक्ष बनेको एनआरएनए पोर्चुगलको भनाइ छ ।

पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि ६० हजारभन्दा बढी नेपाली रहेको अनुमान नेपाली दूतावासले गरेको छ । ठूलो संख्यामा नेपाली समुदाय रहेको पोर्चुगलका लागि काठमाडौंमै पोर्चुगलको कन्सुलर सेवा सुरु हुनु महत्त्वपूर्ण कदम भएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्