नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी दिने र स्वरोजगार बनाउने जग खडा गरिरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “सरकार युवाको रोजगारीका लागि जग बनाउँदै छ । यो जगले युवालाई स्वदेशमा रोजगारी दिने छ । विदेशमा रहेका नागरिकलाई समेत स्वदेशमै आएर काम गर्न सकिन्छ भन्ने सम्भावनाको घन्टी कतै न कतै बजाउने छ । समय लाग्ला तर हामी धेरै पर छैनौँ ।”
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी सभापति लामिछानेले त्यस्तो बताउनुभएको हो । नेपालले प्राप्त गरेको युवा नेतृत्वको अवस्थालाई एउटा ऐतिहासिक अवसरका रूपमा सदुपयोग गर्नुपर्ने जोड दिँदै उहाँले सङ्घीय संसद्मा ठुलो सङ्ख्यामा युवाको प्रतिनिधित्व हुनु अत्यन्तै महत्वपूर्ण राजनीतिक विषय भएको उल्लेख गर्नुभयो ।
उहाँले युवा नेतृत्वका लागि यो समय परीक्षाको घडी भएको धारणासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी नयाँ सम्भावनाको खोजी गरेर मुलुकको समृद्धिको बाटोमा अर्थपूर्ण योगदान दिने छौँ । हामी मुलुकभित्रै सम्भावना खोजी गरेर यहीँ रोजगारी सिर्जना तथा गरिखाने वातावरण बनाउन लागिपरेका छौँ ।”
युवाको नेतृत्व ल्याउन सफल भयौँ भनेर सफलताको गीत गाउने होइन, यसलाई परिणाममा बदलेर गर्व गर्नुपर्ने स्पष्ट पार्दै उहाँले जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सिर्जना हुने स्पष्ट पार्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्