नेपाल । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागद्वारा आयोजित NRNA Webinar Series–3 अन्तर्गत “महिला विभाग : विगत, वर्तमान र भविष्य” विषयमा अन्तरक्रिया तथा ICC र NCC का महिला पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व महिला उपाध्यक्ष तथा पूर्व अध्यक्ष रबिना थापा, पूर्व महिला उपाध्यक्ष सपिला राजभण्डारी, पूर्व महिला संयोजक रञ्जना उदास, पूर्व महिला उपाध्यक्ष तथा सल्लाहकार विष्णुमाया परियार, पूर्व महिला उपाध्यक्ष तथा सल्लाहकार यास्मिन बेगम, वर्तमान उपाध्यक्षद्वय रोजिना प्रधान राई र जुनु गुरुङ लगायत विश्वभरका ICC तथा NCC महिला पदाधिकारीहरू प्रमुख वक्ताका रुपमा रहनुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले महिला विभागको स्थापना कालदेखि हालसम्मको यात्रालाई स्मरण गर्दै महिला नेतृत्वको विकासक्रम, संस्थागत उपलब्धि तथा विभिन्न चुनौतीबारे आफ्ना अनुभव सुनाउनुभएको थियो। विगतमा नेतृत्व तहमा महिलाको सहभागिता सीमित रहेको, विभिन्न सामाजिक तथा संस्थागत चुनौतीका बीच महिला नेतृत्व विस्तार हुँदै आएको र वर्तमानमा महिलाहरू निर्णय तहमा सक्रिय रूपमा स्थापित हुँदै गएको विषयमा वक्ताहरूले चर्चा पार्नुभयो।
उहाँहरूले आफ्नो नेतृत्व यात्राका अनुभव, सिकाइ तथा संघर्षका कथाहरू सुनाउदै गर्दै महिला नेतृत्वलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रस्तुत गर्नुभयो। साथै, महिला विभागले आगामी दिनमा नेतृत्व विकास, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण, सुरक्षित वैदेशिक रोजगार, उद्यमशीलता, डिजिटल सशक्तीकरण तथा विश्वभरका नेपाली महिलाबीच सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
वक्ताहरूले विशेषगरी युवा तथा दोस्रो पुस्ताका नेपाली महिलालाई NRNA को मूलधारमा जोड्दै नेतृत्व हस्तान्तरण (Leadership Transition) लाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। महिलाको प्रतिनिधित्व मात्र नभई नीति निर्माण, निर्णय प्रक्रिया तथा संस्थाका सबै तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँहरूको जोड थियो।
कार्यक्रममा सहभागी ICC तथा NCC महिला पदाधिकारीहरूले पनि विभिन्न देशका अनुभव, सफल अभ्यास तथा भावी योजनाबारे विचार आदानप्रदान गर्दै विश्वभर रहेका नेपाली महिलाबीचको सहकार्य र एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता गर्दै महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका) ले महिला विभागलाई विश्वभरका नेपाली महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अवसर विस्तारको प्रभावकारी मञ्चका रूपमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला विभागले आगामी दिनमा यस्ता ज्ञानमूलक, अनुभव आदान–प्रदान तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रममा विश्वका विभिन्न देशबाट महिला पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विगतका अनुभवलाई सम्मान गर्दै वर्तमान उपलब्धिको समीक्षा र भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्