नेपाल । छिन्नलता गीत पुरस्कार गुठीले गीतकार छिन्नलताको १०४औँ जन्मजयन्तीको अवसर पारेर पाँच सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘छिन्नलता गीत विशेष सम्मान, २०८२’ प्रदान गरे । सम्मानका साथ नगद राशि एक लाख रुपैयाँ समेत प्रदान गरियो ।
यस्तै, ‘छिन्नलता गीत पुरस्कार, २०८२’ गीततर्फ डा. नवराज लम्साललाई, संगीततर्फ किरण कँडेललाई र गायनतर्फ गायिका विमला राईलाई प्रदान गरियो । यी तीनै पुरस्कारका साथ नगद राशि जनही एक–एक लाख रुपैयाँ प्रदान गरियो ।
गुठीले ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार, २०८२’ गायिका सारिका घिमिरेलाई प्रदान गर्यो । यो पुरस्कारका साथ नगद राशि ५० हजार रुपैयाँ प्रदान गरियो । गुठीकी संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले सर्जकलाई नगद राशि प्रदान गरिन् ।
गुठीका सचिव कवि गीतकार दिनेश अधिकारीले संस्थाले समर्पण गर्ने पुरस्कार एक किसिमले लोकप्रियता र दीर्घसेवाको सम्मान पनि भएको उल्लेख गरे ।
पुरस्कृत सर्जकका तर्फबाट कवि डा. लम्सालले पुरस्कारले आफूहरूमा ऊर्जा थपेको बताए । मान्छे गीतभन्दा पर हुनै नसक्ने उनले उल्लेख गरे ।
कार्यक्रममा विमला राई, किरण कँडेल र सारिका घिमिरेले गीत गाएर कार्यक्रमलाई संगीतमय बनाए ।
उक्त अवसरमा गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठी र गुठीका उत्तराधिकारी आदिदेव दत्त सिंहले पनि आफ्नो धारणा राखे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्