नेपाल । रास्वपाले सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ ।
सोमबार सञ्चारगृहवरपर देखिएका शङ्कास्पद गतिविधि तथा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै रास्वपाले यस्ता गतिविधिले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रश्न उठाउने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम राज्यको चौथो अङ्ग भएकाले लोकतान्त्रिक व्यवस्थामा सञ्चारक्षेत्रलाई निर्भीक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
रास्वपाले सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाब सिर्जना गर्ने, त्रासको वातावरण बनाउने वा समाचार प्रकाशन तथा प्रसारणमा अप्रत्यक्ष प्रभाव पार्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने जनाएको छ । “सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले विभिन्न सञ्चार माध्यमका कार्यालयबाहिर पहिचान नखुलेका व्यक्तिहरूको गतिविधि तथा सञ्चार माध्यममा आएका समाचारलाई लिएर उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ ।
रास्वपाले स्वतन्त्र र मर्यादित पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै पत्रकारले निर्भीक रूपमा आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ ।
सञ्चारक्षेत्रलाई निष्पक्ष, तथ्यमा आधारित र जिम्मेवार बनाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै रास्वपाले कुनै पनि बहानामा पत्रकारिता क्षेत्रलाई कमजोर पार्ने प्रयास नगर्न आग्रहसमेत गरेको छ ।
रास्वपाले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । पछिल्लो समय सञ्चार माध्यममाथि हुने सम्भावित दबाब र असुरक्षाका घटनाले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्न सक्ने भन्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पार्टीले जोड दिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्