२७ असार २०८३, शनिबार

कविता: आत्मदाह

कोलोराडोखबर संवाददाता , July 11th, 2026

-लक्ष्मण आचार्य-
गणेश !
तिमीले आफ्नो शरीर मात्र जलाएनौ
बेरोजगारीप्रति
राज्यको अकर्मण्यताविरुद्ध
एक झिल्को विद्रोहको आगो झोस्यौँ

तिमी
सङ्घर्ष गर्दै थियौ
भोक विरुद्ध
शोक विरुद्ध
बेरोजगारी विरुद्ध
उदार अर्थतन्त्रको
समाजवादी गणतन्त्रको
संविधान विरुद्ध
झ्वार्र एक काँटी सलाई भएर
सुनौला सपनाहरू
धुवाँमा खरानी भयौ

तिमी चिच्याइरहेथ्यौ
सारा सहरले सुन्यो
तर राज्यले सुनेन

जतिखेर तिमी जल्दै थियौ
राज्य सुशासनको चिट काट्न
हिसाब लगाउँदै थियोे
जतिखेर आगोमा तिम्रो शरीर लपेटिदै थियोे
बाँच्न निषेध साङ्लोमा जकडिएर
तिमी एउटा बहस छेड्दै थियौ
तर एउटा प्रश्न बाँकी छोड्यौ तिमीले
मानिसले कहिलेसम्म
आफ्नै शरीरलाई निवेदन बनाइराख्ने
न्यायका ढोका बन्द गर्न खोजिन्छ भने
किन मृत्युुलाई नअँगाल्ने ?

गणेश !
तिम्रो खरानी
अब मानिसको एउटा अवशेष मात्र होइन,
सपनाहरूको चिहान हो
तिम्रो विद्रोह
एउटा अमिल्दो शासकीय स्वरूप विरुद्ध
आगोले लेखिएको आत्म बलिदान हो ।

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्