२३ असार २०८३, मंगलवार

सरकारले एडिबीसँग २५ अर्ब आठ करोड रुपैयाँ ऋण लिने सम्झौतामा हस्ताक्षर

कोलोराडोखबर संवाददाता , July 7th, 2026

नेपाल । सरकारले एसियाली विकास बैंक (एडिबी) सँग २५ अर्ब आठ करोड रुपैयाँ ऋण लिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा मन्त्रालयतर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कोस्वाँले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार यो ऋण ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ र ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग र रसद सुधार उपकार्यक्रम’ मा परिचालन हुने छ । यसमध्ये आयोजनाका लागि १७ अर्ब ५० करोड रुपैंया (११ करोड ५० लाख अमेरिकी डलर) र उपकार्यक्रमका लागि करिब सात अर्ब ६० करोड ९पाँच करोड अमेरिकी डलर० रुपियाँ परिचालन हुने अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भ्रमणमा रहेका एडिबीका अध्यक्ष कान्डाले नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौतीको सामना गर्न बैङ्क सधैँ सहयोगी हुने बताउनुभएको छ । अर्थमन्त्री डा. वाग्लेसँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटका क्रममा उहाँले नेपालका विकास प्राथमिकतासँग एडिबीको प्राथमिकता मेल खाएको उल्लेख गर्नुभयो । नेपालसँगको छ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउन उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले एडिबीसँगको साझेदारी आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्