१३ असार २०८३, शनिबार

सक्षम केन्द्रीय कार्यसमिति: अनेसासको आजको आवश्यकता

कोलोराडोखबर संवाददाता , June 27th, 2026

-राजु सिटौला-
अनेसास केन्द्रीय कार्यसमिति (२०२६-२०२८) को निर्वाचनमा महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेदेखि धेरै साथीहरूले मेरो योजना, कार्यक्रम र दृष्टिकोणबारे जान्न चाहनुभएको छ। तर अहिलेसम्म मैले सामाजिक सञ्जालमा कुनै ठूलो घोषणापत्र सार्वजनिक गरेको छैन। यसको अर्थ मसँग अनेसासका लागि कुनै सपना, योजना वा दृष्टिकोण छैन भन्ने होइन। बरु, विगत दुई वर्ष महासचिवको जिम्मेवारी सम्हाल्ने क्रममा मैले एउटा महत्वपूर्ण कुरा बुझेँ, अनेसासजस्तो विश्वभर फैलिएको संस्थालाई कुनै एक व्यक्तिको योजना, जोश वा इच्छाशक्तिले मात्र अगाडि बढाउन सकिँदैन।

जब मैले महासचिवको जिम्मेवारी सम्हालेँ, मसँग पनि धेरै सोच र उत्साह थियो। अहिले पनि छ। तर काम गर्दै जाँदा महसूस भयो कि संस्थालाई वास्तवमै अगाडि बढाउने शक्ति व्यक्तिगत योजनाभन्दा सामूहिक सहकार्यमा रहेछ। संस्थाका पदाधिकारीहरू, क्षेत्रीय नेतृत्व, च्याप्टरहरू र आजीवन सदस्यहरूको साथ र सहभागिताबिना कुनै पनि योजना सफल हुन सक्दैन।

आज अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न पदका आकांक्षी साथीहरूले अत्यन्त राम्रो योजना र कार्यक्रमहरू सार्वजनिक गरिरहनुभएको छ। धेरैजसो योजना आवश्यक छन् र संस्थाको भविष्यसँग जोडिएका छन्। ती पढ्दा मलाई लाग्छ, मैले नयाँ नाराहरू थप्नुभन्दा पनि भोली निर्वाचित भएको खण्डमा विधानले तोकेको जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै तिनै योजनाहरूलाई सफल बनाउन लागे भने परिवर्तनको सम्वाहक बन्न सक्छु। आखिर महासचिवको कर्तव्य भनेकै संस्थाका योजनाहरूलाई कार्यान्वयनको दिशामा अगाडि बढाउनु त हो ।

मेरो अनुभवले सिकाएको अर्को कुरा के हो भने योजना बनाउनु सजिलो छ, कार्यान्वयन गर्नु कठिन छ। चुनावको समयमा हामी सबैसँग सुन्दर सपना हुन्छन्। तर ती सपनालाई यथार्थमा बदल्न समय, निरन्तरता र सहकार्य चाहिन्छ। कुनै पनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष वा महासचिवले एक्लै संस्थालाई रूपान्तरण गर्न सक्दैनन्। सफलताको आधार भनेकै सक्षम र सक्रिय कार्यसमिति हो।

उदाहरणका लागि अहिले धेरै उम्मेदवारहरूले अनेसासको आफ्नै भवन निर्माणको विषय उठाउनुभएको छ। यो वास्तवमै महत्वपूर्ण लक्ष्य हो। तर यो विचार आज मात्र आएको होइन। अनेसास बोर्ड अफ ट्रस्टिज, वर्तमान कार्यसमिति लगायत विगतका कार्यसमितिहरूबाटा पनि यस विषयमा प्रयास भएको छ र कामहरू अगाडि बढेको छ। तर विभिन्न कारणले त्यो योजना अझै पूर्ण हुन सकेको छैन। त्यसैले नयाँ योजना ल्याउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई अन्तिम निष्कर्षसम्म पुर्‍याउने धैर्य, निरन्तरता र प्रतिबद्धता पनि आवश्यक पर्छ।

मेरो विचारमा अनेसासको सबैभन्दा ठूलो चुनौती योजनाको अभाव होइन। चुनौती भनेको समय र निरन्तरता हो। हामी सबै स्वयंसेवक हौँ। हाम्रो आफ्नै पेशा, व्यवसाय, परिवार र व्यक्तिगत जिम्मेवारीहरू छन्। जीवनमा कहिले स्वास्थ्यका समस्या आउँछन्, कहिले अन्य अप्रत्याशित परिस्थितिहरू। त्यसैले सबैजना सधैं उपलब्ध हुन सक्दैनन्। यो स्वाभाविक कुरा हो। तर यति हुँदाहुँदै पनि संस्थाप्रति एउटा तहको समर्पण भने हुनैपर्छ। चुनावको समयमा हामी जसरी समय निकालेर प्रचार-प्रसार, भेटघाट र संवादमा सक्रिय हुन्छौँ, निर्वाचनपछि पनि त्यसैगरी आफ्ना प्रतिबद्धता पूरा गर्न समय दिन सक्यौँ भने धेरै कामहरू सहज रूपमा अगाडि बढ्न सक्छन्।

अर्को कुरा, कामप्रतिको लगाव। कहिलेकाहीँ “मलाई काम दिइएन” वा “मलाई भूमिका दिइएन” भन्ने गुनासाहरू सुनिन्छन्। तर मेरो अनुभव अलि फरक छ। अनेसासको विधानले प्रत्येक पदको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ। कार्यसमितिको बैठकले पनि आवश्यकताअनुसार जिम्मेवारी बाँडफाँट गर्छ। तर संस्थामा काम गर्दै जाँदा एउटा कुरा स्पष्ट देखिन्छ, जसलाई कामप्रति रुचि हुन्छ, उसले जिम्मेवारी खोज्छ; जिम्मेवारीबाट भाग्दैन। यस्ता व्यक्तिहरूमा संस्था पनि स्वाभाविक रूपमा भर पर्न थाल्छ।

विगत दुई वर्षमा मैले धेरै कुरा सिक्ने अवसर पाएँ। अनेसासका सम्भावना, चुनौती, कार्यशैली र सदस्यहरूको अपेक्षाबारे नजिकबाट बुझ्ने मौका मिल्यो। तर इमान्दारीपूर्वक भन्नुपर्दा, मैले सिकेका सबै कुरा व्यवहारमा उतार्ने पर्याप्त समय भने पाइनँ। त्यसैले आगामी कार्यकालका लागि अवसर प्राप्त भएमा कार्यकाल शुरु गरेको पहिलो दिनदेखि नै त्यो अनुभवलाई संस्थाको हितमा प्रयोग गर्ने मेरो प्रतिबद्धता छ ।

अन्त्यमा, आदरणीय आजीवन सदस्यज्यूहरूमा म एउटा कुरा स्पष्ट रूपमा अनुरोध गर्न चाहन्छु। यदि अनेसास केन्द्रीय कार्यसमितिको माहासचिव पदका लागि मभन्दा बढी सक्षम, बढी समय दिन सक्ने र संस्थालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन सक्ने व्यक्ति देख्नुहुन्छ भने उहाँलाई चयन गर्न नहिच्किचाउनुहोस्। मेरो व्यक्तिगत आकांक्षाभन्दा अनेसासको भविष्य ठूलो कुरा हो।

तर जोसुकै निर्वाचित भए पनि अनेसासलाई सफल बनाउने काम कुनै एक व्यक्तिले गर्न सक्दैन। अध्यक्ष, महासचिव वा कुनै एक पदाधिकारीको समर्पणले मात्र पनि पुग्दैन। अनेसासलाई आज आवश्यक परेको कुरा भनेको सक्षम, जिम्मेवार, समय दिन सक्ने र सहकार्यमा विश्वास गर्ने केन्द्रीय कार्यसमिति हो। त्यसैले यस निर्वाचनमा केवल कुनै एक व्यक्तिलाई जिताउने वा हराउने भन्दा पनि एउटा सक्षम कार्यसमितिको निर्माण गरौ किनकि अनेसासको भविष्य कुनै एक व्यक्तिको हातमा होइन, हामी सबैको सामूहिक प्रतिबद्धतामा निर्भर छ ।

-केन्द्रीय महासचिव, अनेसास

प्रतिक्रिया दिनुहोस्