८ असार २०८३, सोमबार

अमेरिका निवासी विश्वराज अधिकारीलाई ‘बज्जिका रत्न, २०८३’ प्रदान

कोलोराडोखबर संवाददाता , June 22nd, 2026

नेपाल । सर्लाहीको बज्जिका साहित्य समाजले बज्जिका भाषामा ६ कृति ल्याइसकेका साहित्यकार विश्वराज अधिकारीलाई ‘बज्जिका रत्न, २०८३’ प्रदान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ, समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहालगायत व्यक्तिहरूले अधिकारीलाई बज्जिका रत्नद्वारा सम्मान गरेका हुन् ।

कार्यक्रममा अधिकारीद्वारा लिखित बज्जिका भाषाको लघुकथाकृति ‘हरिअरी’, जगदीशप्रसाद शर्माद्वारा सम्पादित कृति ‘विश्वराज एकः व्यक्तित्व अनेक’ र रामचन्द्र महतो कुशवाहाद्वारा लिखित ‘विश्वराज अधिकारी बज्जिका रत्न’ नामक कृति लोकार्पण समेत गरियो ।

सम्मान गर्दै आख्यानकार श्रेष्ठले अमेरिकामा बसेर पनि नेपाली र बज्जिका भाषासाहित्यमा निरन्तर सक्रिय अधिकारीको सिर्जनशीलताको चर्चा गरिन् ।

बज्जिका साहित्य समाजका अध्यक्ष कुशवाहाले सर्लाही छतौनामा जन्मिएर अहिले सात समुद्रपारि अमेरिकामा रहेर पनि बज्जिका साहित्यको उत्थानमा अधिकारीले गरेको काम र यसप्रति उनको प्रेमको प्रशंसा गरे ।

नियात्राकार प्रतीक ढकालले अधिकारी बज्जिका भाषाको अभिलेखकर्ता भएको उल्लेख गर्दै उनको साहित्य प्रेमबारे बताए ।

कार्यक्रममा ‘विश्वराज एकः व्यक्तित्व अनेक’माथि कथाकार मन्दिरा मधुश्रीले आफ्नो मन्तव्य राखिन् । कथाकार, समालोचक डा. दीनबन्धु शर्माले पनि अधिकारीको लेखनको चर्चा गरे ।

कृतिकार अधिकारीले आफू भुइँमान्छे भएको उल्लेख गर्दै साहित्य सेवामा लागिरहने बताए ।

कार्यक्रममा शुकदेव उपाध्याय, प्राडा मोहन तिमिल्सिना, अजयकुमार झा, तुलसीहरि कोइरालालगायत साहित्यकारले आफ्ना धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्