४ असार २०८३, बिहीबार

इङ्गल्यान्डद्वारा क्रोएसिया ४-२ ले पराजीत, घानाको जीत, कङ्गो र पोर्चुगल बराबरी

कोलोराडोखबर संवाददाता , June 18th, 2026

नेपाल । कप्तान ह्यारी केनको दुई गोल तथा जुड बेलिङ्घम र मार्कस रासफोर्डको उत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्यान्डले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ।

बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै इङ्गल्यान्डले लगातार तेस्रो विश्वकपमा विजयी सुरुवात गर्ने कीर्तिमान समेत बनाएको छ ।

इङ्गल्यान्डका लागि केनले दुई तथा बेलिङ्घम र रासफोर्डले एक–एक गोल गरे। क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसाको गोल टोलीलाई जित दिलाउन पर्याप्त बनेन ।

यता फिफा विश्वकप २०२६ को समूह एल अन्तर्गत क्यानडाको टोरन्टो रङ्गशालामा भएको रोमाञ्चक खेलमा घानाले पानामामाथि १–० को कठिन तर महत्त्वपूर्ण जित निकालेको छ ।

खेलको अन्तिम समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि बराबरीमा सकिने अनुमान गरिएका बेला घानाले इन्जुरी समयमा निर्णायक गोल गर्दै स्पष्ट ३ अङ्क जोड्न सफल भयो।

खेलको ९० औँ मिनेटपछिको थप गरिएको पाँचौँ मिनेटमा घानाका मिडफिल्डर कालेब यिरेन्कीले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाए ।

उता फिफा विश्वकप अन्तर्गत भएको रोमाञ्चक खेलमा कङ्गो डीआरले बलियो टोली पोर्चुगललाई १–१ गोलको बराबरीमा रोक्दै ऐतिहासिक अङ्क जोडेको छ ।

कङ्गो डीआरका लागि विश्वकप इतिहासमै यो पहिलो गोल र पहिलो अङ्क हो । खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो तर त्यसलाई जोगाउन सकेन । अर्कोतर्फ, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् ।

पोर्चुगलको सुरुवाती अग्रतास् खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको उत्कृष्ट क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आर्थर मासुआकुको क्रसलाई सदुपयोग गर्दै कंगोका योआने विसाले उत्कृष्ट हेड गोल गरे।

प्रतिक्रिया दिनुहोस्