-आर. आर. चौलागाईं-
यत्रो वर्ष यो खोलामा
पीपमात्रै बग्यो ।
होला पीप बगिरहँदा
कहिलेकाहीँ खोलामा कतैबाट खसेर
फूलको थुङ्गा पनि आयो होला
होला पीप बगिरहँदा
कहिलेकाहीँ खोलामा कतैबाट पोखिएर
आक्कलझुक्कल खाँट्टी दूध पनि आयो होला
होला पीप बगिरहँदा
कहिलेकाहीँ खाेलामा अचानक कतैबाट
स्वच्छ पानी पनि मिसियो होला ।
सिङ्गै खोला पीपको भएपछि
दुई चार थुङ्गा फूलको के अर्थ ?
सिङ्गै खोला पीपको भएपछि
दुई चार माना खाँट्टी दूधको के अर्थ ?
सिङ्गै खोला पीपको भएपछि
दुई चार बाल्टी स्वच्छ पानीको के अर्थ ?
खाेला कुर्न बसेकाहरूले
जहिले पनि खोलाको मात्रै व्यापार गरे
खाेला कुर्न बसेकाहरूले
जहिले पनि ठुल्ठूला सपनामात्रै बेचे
खाेला कुर्न बसेकाहरूले
खोला सफासुग्घर राख्नुपर्छ भन्नेहरूलाई
जहिले पनि कालापानीमात्रै पुर्याए ।
मेरो सपना त
खोलाको दुवै किनारमा फूल फुल्नु हो
मेरो सपना त
खोला दुधै दूधको भएर बग्नु हो
मेरो सपना त
खोला सङ्लो भएर तल तलसम्म पुग्नु हो
तर अहिले खोलामा पीप बगिरहेको छ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्