१७ जेष्ठ २०८३, आईतवार

‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ नामक पुस्तक सार्वजनिक

कोलोराडोखबर संवाददाता , May 31st, 2026

नेपाल । श्री ३ जङ्गबहादुर राणाका विश्वासपात्र माइला भाइ बमबहादुर कुँवर राणाको ऐतिहासिक योगदानमा आधारित ‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपालको राणाकालीन इतिहासमा बमबहादुरको त्यति धेरै चर्चा नपाइए पनि उहाँका ऐतिहासिक योगदानको खोजबिन गरी यो कृति तयार पारिएको हो ।

श्री ३ जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीका रूपमा करिब १३ महिना राजकाजको जिम्मा बमबहादुरले पाउनुभएको थियो । विसं १९१३ मा प्रधानमन्त्रीकै रूपमा एक वर्ष मुलुकको नेतृत्व गर्नुभएका राणाले नेपाल–भोट युद्धको समेत कमान्ड सम्हाल्नुभएको थियो । नेपाली राजनीति र सैन्य इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँकै योगदानलाई समेटेर डा। तिलु थापाद्वारा लिखित सो पुस्तक टेकुस्थित बम्बीर विकटेश्वर शिवालयमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा इतिहासकार प्राडा सुरेन्द्र केसी, सुदर्शनविक्रम राणा, लेखिका डा. तिलु थापा र बम्बीर विकटेश्वर गुठीका अध्यक्ष राजविक्रम राणाले संयुक्त रूपमा सो कृतिको लोकार्पण गर्नुभयो ।

लोकार्पणपछि बोल्दै इतिहासकार प्राडा सुरेन्द्र केसीले इतिहासका घटनाप्रति सदैव इमानदार भएर तथ्यहरू आउँदो पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा जोड दिनुभयो । पुस्तककी लेखिका डा. थापाले इतिहासका किताबहरूमा बमबहादुरका विषयमा निकै कम सामग्री उपलब्ध भएकाले यो इतिहास लेखनका लागि तथ्य तथा सामग्री सङ्कलन गर्न लामो समय लागेको अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्