-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन एक भब्य समारोह बीच सुरु भयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको मुख्य आयोजनामा कोलोराडोको डेनभरमा शनिबारदेखि सम्मेलन सुरु भएको थियो ।
सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता डा. नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको मुख्य आयोजना, अनेसास कोलोराडो च्याप्टरको संयोजन, एनआरएनए एनसीसी अमेरिका लगायत संघ संस्थाहरुको सहयोगमा सुरु भएको सम्मेलनमा नेपाल, अमेरिका, युरोप लगायतका देशबाट आएका साहित्यकार, लेखक, पत्रकार तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायत दुई सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न मुलुकबाट १२५ जना साहित्यकारहरुको मात्रै सहभागिता छ ।
कार्यक्रममा प्रमुख अतिथि डा. लम्सालसहित एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, राधेश्याम लेकाली, कान्तिपुर दैनिकका पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, टिकाराम यात्री, अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत, पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल, चर्चित प्रस्तोता नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारी लगायत साहित्य परिषद् भूटानका अध्यक्ष खेम रिजाल, साहित्यकार गंगाराम लामिटारे, शिवलाल दाहाललगायतको सहभागिता रह्यो ।
उद्घाटनपछि Celebration Nepali Literature in English बिषयमा बिभिन्न वक्ताहरूको प्रश्तुती रहेको थियो । विश्वभरी छरिएर रहनु भएका बिभिन्न लेखकहरूका १ सय भन्दा बढि कृतिहरू विमोचन भएका छन् । त्यसैगरी बिभिन्न कवी कवयत्रीहरूले छन्द कविता, गद्य कविता, गजल गाएका थिए ।
कार्यक्रममा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ लगायत दर्जन बढी महत्वपूर्ण सेसन तथा छलफलमा विभिन्न साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिदो नेपाली साहित्यका विषयमा विमर्श गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न उद्घाटन समारेहको संचालन अनेसास महासचिव राजु सिटोला र कोषाध्यक्ष तारा अधिकारिले संयूक्त रूपमा संचालन गरेका थिए ।
सन् १९९१ मा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिश्वभर छरिएर रहेका नेपाली भाषी स्रष्टा र साहित्यप्रेमीहरूको अन्तराष्ट्रिय स्तरको साझा संस्था हो ।



कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्