१ जेष्ठ २०८३, शुक्रबार

सरकार बेलगामको घोडा जस्तो भए उसकै लागि घातक हुनेछः सभापति थापा

कोलोराडोखबर संवाददाता , May 15th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार पाँच वर्षसम्म टिक्नुपर्ने बताउँदै संविधान, कानुन र विधिअनुसार सञ्चालन भएमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्ने बताउनु भएको छ ।

पोखरामा बिहीबार आयोजित कांग्रेसको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकार विधिसम्मत नचले प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले खबरदारी गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारलाई सहयोग गर्न कांग्रेस पछि नहट्ने बताउँदै वालेन्द्र शाह नेतृत्वको सरकार संविधानको मर्मअनुसार चल्नुपर्ने धारणा राख्दै भन्नुभयो, “सरकार बेलगामको घोडा जस्तो भए उसकै लागि घातक हुनेछ ।”

उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकप्रति भएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ती समुदायको संरक्षणमा प्रदेश र स्थानीय तह सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो ।

सभापति थापाले पछिल्ला घटनाक्रममा निजी क्षेत्रमाथि भइरहेको गैरकानुनी हस्तक्षेपको विरोध गर्दै निजी क्षेत्रलाई त्रसित बनाएर सुशासनको नारा सार्थक हुन नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्